नेपाल सरकार

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

पर्यटन विभाग

व्यावसायिक र सृजनशील प्रशासन,विकास, समृद्धि र सुशासन

बिभागको परिचय

नेपालको तुलनात्मक र प्रतिस्पर्धात्मक लाभका दृष्टिले मुलुकको आर्थिक विकासको प्रमुख आधार रहेको पर्यटन क्षेत्रले विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना, आर्थिक कृयाकलाप अभिवृद्धि र समग्र आर्थिक विकास र समुन्नतिमा टेवा पुर्याउँदै आएको छ । देशमा रहेका सम्पूर्ण मूर्त र अमूर्त साँस्कृतिक सम्पदाहरुको संरक्षण र विकास गरी तिनको आर्थिक उपयोग गर्ने तथा पर्यटनलाई मुलुकको आर्थिक आधारको रुपमा ग्रामीण तहसम्म विकास र विस्तार गरी यसको प्रतिफल जनजीवनको तल्लो तहसम्म पुर्याउन संस्कृति र पर्यटन क्षेत्रको विविधिकरण, विस्तार र प्रवर्द्धन गरिनु आवश्यक छ ।पर्यटन क्षेत्रको विकास र विस्तार सहित आन्तरिक र बाह्य हवाई यातायात विकास गरी थप सुरक्षित, स्तरीय र भरपर्दो बनाउन आवश्यक छ ।
 

नेपालमा विदेशी पर्यटकहरुको आवागमन शुरुवातसँगै पर्यटन क्षेत्रका कार्यक्रमहरुलाई व्यवस्थित ढंगले अगाडि बढाउन सर्वप्रथम वि.सं. २०१६ सालमा पर्यटन बोर्डको स्थापना गरिएको थियो । वि.सं. २०१८ सालमा निर्माण तथा यातायात मन्त्रालय अन्तर्गत पर्यटन विभाग गठन गरिएको थियो । सन् १९७२ को पर्यटन गुरुयोजना र प्रशासन सुधार आयोग, २०३२ को सिफारिस समेतका आधारमा पर्यटन क्षेत्रको योजनाबद्ध विकास तथा प्रबर्द्धन गर्न केन्द्रीय पर्यटन प्रशासनिक निकायको रुपमा वि.सं. २०३४ सालमा छुट्टै पर्यटन मन्त्रालयको स्थापना भएको हो । वि.सं. २०३९ सालमा निर्माण तथा यातायात मन्त्रालय अन्तर्गतको हवाई विभागलाई समेत गाभी पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय नामाकरण गरियो । मुलुकले अवलम्बन गरेको खुला बजारमुखी अर्थतन्त्रमा सरकारको भूमिका र कार्यक्षेत्रलाई व्यवस्थित गर्न वि.सं. २०५५ सालमा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका २ (दुई) वटा विभागहरु हवाई विभाग र पर्यटन विभागलाई खारेज गरी क्रमशः नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल पर्यटन बोर्डको स्थापना गरियो । वि.सं. २०५७ सालदेखि संस्कृति क्षेत्रको समेत कार्य गर्ने गरी मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको रुपमा नामाकरण गरियो । पर्यटन उद्योगको व्यवस्थापन, पर्यटन पूर्वाधार विकास, पर्यटकको सुरक्षा लगायत कार्यहरु गर्न नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७१ श्रावण २ गतेको निर्णयनुसार मिति २०७१ भाद्र महिनामा पर्यटन विभागको स्थापना गरिएको छ ।
 

नेपालको आर्थिक विकासमा पर्यटन क्षेत्रको महत्व बढ्दै गए अनुरुप यसलाई प्रमुख प्राथमिकताको क्षेत्रमा राखिएको, नेपालको सांस्कृतिक विविधता अनुपम रहेकोले यसलाई संरक्षण, विकास र प्रबर्द्धन गर्दै यसको आर्थिक उपयोग एवम् पर्यटनको मुख्य उत्पादन र गन्तव्यको रुपमा विकास गर्न आवश्यक भएको, साथै हवाई सेवाले भौगोलिक विषमतामा यातायात सेवा उपलब्ध गराउनुको अतिरिक्त बाह्य र आन्तरिक रुपमा पहुँच विस्तार भै पर्यटन सेवामा समेत पर्याप्त योगदान पुर्याउने भएकोले यी तीनओटै क्षेत्रलाई एकीकृत रुपमा अगाडि बढाउन एउटै मन्त्रालयको कार्यक्षेत्रमा राखिएको पाइन्छ ।

पर्यटन विभाग

संस्कृति, पर्यटन तथा नागिरक उड्डयन मन्त्रालयले प्रत्यक्ष संलग्न भै पर्यटन उद्योग महाशाखाले गर्दै आएका पर्यटन उद्योगहरुको दर्ता, नवीकरण, स्तरीकरण, अनुगमन एवम् पर्यटन
व्यवसायको नियमन गर्ने कार्य, पर्यटकीय सम्पदाहरुको संरक्षण तथा पर्यटन पूर्वाधारहरुको विकास, पर्यटकहरुको सुरक्षा गर्ने जस्ता कार्यहरु विभागस्तर र कार्यालयस्तरबाट गर्नु
औचित्यपूर्ण हुन्छ ।

त्यसमा पनि धेरै पर्यटक व्यवसाय र उद्योग भएको काठमाण्डौ र ठूला पर्यटन उद्योगहरु जस्तो पाँचतारे होटलहरु, क्यासिनो, स्वदेश विदेशमा पर्यटन प्रबर्द्धन, पर्वतारोहण अनुमति
र पर्वतीय पर्यटनको एकीकृत विकास जस्ता कार्य विभागको तहबाट गर्नु उपयुक्त हुने भएकोले पर्यटन पूर्वाधार विकास, पर्यटन उद्योगहरुको नियमन, पर्यटन प्रबद्र्धन र विकास,
पर्यटक प्रहरीको व्यवस्थापन र मातहतका पर्यटन कार्यालयहरु समेत हेर्ने गरी नेपाल सरकार (मन्त्रिपरिषद्) मिति २०७१।०४।०२ को निर्णयानुसार पर्यटन विभागको गठन भएको हो ।


25th Apr 24 20:33:01

2020 All Rights Reserved Terms of Use and Privacy Policy

Site Visited
2081386